पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि रामार्ग पूर्ण रूपमा अवरूद्ध छ।
बाटो अवरूद्ध भएसँगै पोखरा–काठमाडौं आउजाउ गर्ने यात्रुले बैकल्पिक मार्गको खोजी गरिरहेका छन्। यसअघि भदौ १० गते आएको भोटेकोशी बाढीले पनि राजमार्ग अवरूद्ध पारेको थियो। राजमार्ग खुलेको २४ घण्टापछि फेरि आइतबार कृष्णभीरमा पहिरो गएर अवरूद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बागमतीले जनाएको छ।
देशकै व्यस्त राजमार्गमध्ये एक पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक बाटोको खोजी र प्रयोग गर्न थालेको यातायात व्यवसायीहरूले बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार सरकारले तोकेको वैकल्पिक बाटोबाट पोखरा–काठमाडौं आउजाउ गरेको बताए।
‘पोखराबाट काठमाडौं आवतजावत गर्न मुग्लिनबाट चितवन, हेटौंडा हुँदै बाइरोडको बाटोबाट आउजाउ भइराखेको छ,’ उनले भने, ‘१४ सिटे गाडीलाई दक्षिणकालीबाट हेटौंडा हुँदै आउजाउ गर्न पनि अनुमति दिएको छ।’
ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म कुनै अवरोध छैन। मुग्लिनबाट उता कृष्णभीरमा पहिरो गएकाले पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।
यातायात व्यवसायीले भने सरकारले तोकेको वैकल्पिक बाटो निकै घुमाउरो पर्ने र अत्यधिक जाम हुन थालेको जनाएका छन्।
विकल्पका रूपमा मध्यपहाडी लोकमार्ग पनि प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ। तर अहिलेसम्म सरकारले मध्यपहाडी लोकमार्गलाई विकल्पका रूपमा प्रयोग गर्न नभनेको यातायात व्यवसायी महासंघ अध्यक्ष सिटौलाले बताए।
‘हामी त सरकारले देखाएको बाटोमा हिँडेका छौं, मध्यपहाडी लोकमार्ग प्रयोग गर्न सरकारले विकल्प दिएको छैन,’ उनले भने।
कृष्णभीरमा पहिरो गएपछि तत्काल पहिरो पन्छाएर बाटो सञ्चालन गर्न सकिने अवस्था नरहेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले जनाएका छन्।
उनका अनुसार, त्रिशूली नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर रूपमा छ।
सडकको झण्डै १०० मिटर भाग भासिएको र चिरिएको छ। यससँगै पैदलयात्रा समेत रोकिएको छ। तत्काल सडक बनाउन सक्ने अवस्था छैन। विज्ञहरूले वैकल्पिक अध्ययन थालेको उनले बताए।
पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले सडक तत्काल बनाउन सक्ने अवस्था नभएपछि वैकल्पिक मार्गको खोजी थालिएको बताइन्।
त्रिशूलीले कटानका कारण सडकको भित्तोसमेत चर्किएको छ।
नदीले सडकको फेद कटान गरिरहेको उनको भनाइ छ।
‘खोलाले कटान गरिरहेको छ। कति झर्छ यकिन भन्न सकिने अवस्था छैन,’ उनले भनिन्।
सडकको भित्तो माथिको डाँडाको अवस्था हेर्ने काम भइरहेको बताउँदै उनले विषय विज्ञले विस्तृत अध्ययन गरेर कसरी काम गर्ने भन्ने टुङ्गो लाग्ने बताइन्।
माथि डाँडामा बस्ती समेत रहेको भन्दै उनले भित्तो काट्न पनि सम्भव नभएको बताउँदै भनिन्, ‘भित्तो काट्न मिल्दैन। माथितिर बस्ती छ। अहिले हामी तत्काल चलाउन सक्दैनौँ।’