पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुंगा सडक ठाउँ ठाउँमा भासिएको छ। जसले गर्दा सवारी साधन सञ्चालन अवरूद्ध भइरहेको छ।
काठमाडौं आउजाउ गर्ने सवारी साधन वैकल्पिक मार्ग हेटौंडा हुँदै सञ्चालन गर्नुपर्ने बाध्यता छ।
भदौ १० र त्यसपछिका भोटेकोशी-त्रिशूली बाढीले पृथ्वी राजमार्गको धादिङस्थित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ।
कृष्णभिर सडक खुलाउन कम्तीमा १५ दिन लाग्ने भएको छ।
पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीको ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भू-भागमा समेत चिरा परेकोले कृष्णभिरमा सडक भासिएको बताए।
विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १५ दिनभित्र राजमार्ग खुलाउने प्रयत्न गर्ने उनले बताएका छन्।
सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभिरको पहिरो पुरानै 'स्लोप फेलियर' भएको क्षेत्रमा दोहोरिएको गएको बताए।
तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना रहेको उनी बताउँछन्।
धादिङकै मलेखुनजिकै परेवा भिरमा पनि सडक भासिएको छ। त्रिशूली नदीले कटान गरेपछि सडक भासिएको हो। यहाँ मंगलबार भासिएकोभन्दा माथिल्लो क्षेत्र कटान गरी सडक बनाए पनि सडक थप भासिएर जोखिममा पारेको छ।
साथै धादिङकै जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन सुरू गरेको छ। त्रिशूलीको बाढीले सडकको टेवा पर्खालमा क्षति पुर्याएपछि सडक एकतर्फी गरिएको थियो।
नदीले सडकको तल्लो भागबाट तीब्र रूपमा कटान गरेसँगै बुधवार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन थालेको छ।
नदीको बहाव बढेर सडकको जगमै क्षति पुर्याउन थालेपछि राजमार्गको उक्त खण्ड जोखिममा परेको सडक विभागले जनाएको छ।
यस्तै सडक विभागका अनु्सार नागढुंगानजिकै पातले वनमा पनि सडक भासिएको छ। सडकको टेवा पर्खाल भत्किएपछि सडक भासिन पुगेको हो। यहाँ पनि सडक एकतर्फी छ। पेट्रोलियम पदार्थ बोकेका र दुईपाङ्ग्रे सवारी साधन मात्रै यो सडकमा सञ्चालन गर्न दिइएको छ। अरू सवारी साधनलाई सुरूङमार्गबाट काठमाडौंतर्फ पठाउने गरिएको छ।