भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाहरूका सुरूङ तथा पावर हाउसमा श्रमिक तथा प्राविधिक कर्मचारीहरू फसेको आशंकामा उद्धार प्रयास भइरहेको छ।
सेनाले आज दिनभर कुन आयोजनाको सुरूङमा के प्रयास भयो भन्ने विवरण सार्वजनिक गरेको छ।
त्रिशूली ३ 'ए'
यो जलविद्युत आयोजनाको सुरूङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त खोज तथा उद्धार टोलीले काम गरेको थियो।
शुक्रबार उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ। उनीहरूलाई थप उपचारको लागि हेलिकप्टरमार्फत वीरेन्द्र अस्पताल छाउनी ल्याई उपचार भइरहेको छ। खोज तथा उद्धारको क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
त्रिशूली ३ 'बी'
त्रिशूली ३बीमा सेनाका ८९, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेको छ।
उक्त क्षेत्रसम्म पुग्न एक्स्काभेटरबाट बाटो बनाउन बबक्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको जनाएको छ। अडिट टनेल १ बाट ४२६ मिटर भित्र प्रवेश गरेको छ। साथै, अडिट १ बाट एक्स्काभेटर छिराउन अपरेटर सहित त्रिशूली ३ ए सँग लिङ्कअप गराउने कार्य भइरहेको जनाएको छ।
लाङटाङ खोला जलविद्युत आयोजना
यो आयोजनामा नेपाली सेनाका २५ तथा गैरसैनिक २ सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी २ वटा शव फेला परेको जनाएको छ। थप खोज तथा उद्धार जारी छ।
चिलिमे जलविद्युत आयोजना
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र मडपम्पको सहायताले लेदो फाल्ने कार्य गरिरहेको छ।
माथिल्लो त्रिशुली-१
माथिल्लो त्रिशूली १ को हाकुस्थित टनेलमा नेपाली सेनाका १७ जना र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले र्याफ्ट र बोटको समेत प्रयोग गरी खोजी कार्य गरिरहेको छ। साथै, टनेलमा रहेको पानी फाल्ने काम गरिरहेको छ।