सङ्खुवासभामा मकालु गाउँपालिका-३ र ५ मा निर्माणाधीन नौ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ।
आज बिहान करिब ८ बजे अरूण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरूण नदी थुनिएको थियो। पहिराले थुनिएको अरूण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो। अरूण नदी थुनिएको आठ घन्टापछि ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। उपरीक्षक गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो। अरूण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो।
बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ। टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो। अरूण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत् अरूण नदी मोडिएको थियो। आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाभर्सन टनेलमार्फत् नदी बग्दै आएको थियो।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरूण नदी छेउछाउका वस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ। अरूण थुनिएपछि अरूण तेस्रोमा ड्याम साइडको काम पनि ठप्प भएको छ। अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ।