पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन्।
पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन्।
भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।
‘भरियालाई पिसाब गर्न भनेर निस्किनुभएको रहेछ, निकै समय बितिसक्दा पनि नफर्किएपछि भरियाले यताउति खोजी गर्दा भेटेनन्, त्यसपछि प्रहरीलाई खबर भएको र हिजो बिहानैदेखि प्रहरीको टोलीसहित उहाँका आफन्त र स्थानीयद्वारा खोजतलास भइरहेको छ, मानसिकरूपमा त्यति स्वस्थ नभएको परिवारले बताएका छन्,’ उनले भने।
झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बसेका थिए। उनी हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत गएका थिए। अरू आफन्त भने हिँड्दै गएका थिए।