यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज-उद्धार हुन सकेको छैन।
उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए।
कर्णाली प्रदेश सरकारले सोमबारै खोज-उद्धार टोली मुगु कार्मारोङ गाउँपालिकामा पुर्याए पनि उनीहरूको पत्ता लगाउन सकिएको छैन।
सशस्त्र प्रहरीका १०, नेपाल प्रहरीका ११ र दुई जना घटनाका प्रत्यक्षदर्शी गरेर २३ जनाको टोली घटनास्थलमा पुगेका छन्। तर उनीहरू नै जोखिम अवस्थामा रहेको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विपद शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए।
'सुर्खेतबाट मुगु गमगढी हुँदै सुरक्षाको खोज तथा उद्धार टोलीलाई मुगुमा कार्मारोङ गाउँपालिका पुर्याइएको छ,' उनले भने, 'उनीहरू भएको ठाउँबाट घटनास्थलमा पैदल जान अझै पाँच घन्टा लाग्दो रहेछ।'
हिमपात बढी र भौगोलिक कठिनाइका कारण उद्धार कार्य जटिल बनेको शाखा प्रमुख रोकायले बताए।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार हराएको भनिएको ठाउँमा दस फिट जति हिमपात भएकाले बेपत्ताहरूलाई फेला पार्न नसकिएको हो।
उनले भने, 'उनीहरू दिउँसो करिब छ घन्टा लगाएर घटनास्थल पुग्छन् तर साँझ बस्ने ठाउँ फर्किनुपर्छ। यसले गर्दा समस्या भइरहेको छ। आवश्यक परे थप बल पनि पठाउँछौं।'
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले खोज-उद्धार भइरहे पनि घटनास्थल सोली आकारको भएकाले घाम लाग्दा पग्लेर हिउँपहिरो थपिरहँदा समस्या भएको बताए।
बेपत्ताको खोजीमा जाँदा खोज उद्धार टोली नै जोखिममा रहेकाले अवस्था सोचनीय र संवेदनशील रहेको उनले बताए।