कास्कीमा एक जना युवकको शव फेला परेको छ।
पोखरा महानगरपालिका वडा नम्बर १५ मा रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको हो। वन विज्ञान अध्यन संस्थान जाने बाटोमा भेटिएको शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए।
सोमबार बिहान करिब ५ बजेतिर भेटिएको शवसँगै एउटा हथौडा पनि भेटिएको छ। शव देख्ने स्थानीयले जानकारी गराएपछि बिहानै प्रहरी पुगेर शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डिएसपी बस्नेतले बताए।
‘शवसँगै हथौडा भेटिएको छ। शवमा चोटपटक लागेको देखिन्छ,’ उनले भने, ‘हत्या हो कि के हो पोष्टमर्टम रिपोर्ट आएपछि खुल्ला।’
डिएसपी बस्नेतका अनुसार अहिलेसम्म शवको सनाखत भने हुन सकेको छैन। बिहानै शव भएको ठाउँमा कुकुर लिएर गएर प्रहरीले अनुसन्धान थालेको थियो। स्थानीयबासीले पनि शव नचिने प्रहरीलाई बताएका छन्।