काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा पक्राउ परेका ३९ जना प्रतिवादीहरूको थुनछेक बहस अझै जारी छ।
सात दिनदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा निरन्तर थुनछेक बहस चलिरहेको छ।
मंगलबार पनि थुनछेक बहसका लागि प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ।
थुनछेक बहसको क्रममा दुर्गा प्रसाईं लगायत केही प्रतिवादीहरूको सकिसकेको छ।
प्रतिवादीमध्ये पशुपति खड्काको तर्फबाट मंगलबार बहस हुँदैछ। उनको पक्षमा बहस गर्ने वकिलहरू थुप्रै रहेकाले आज पनि आदेश आउने सम्भावना कम छ।
थुनछेक बहस बुधबारसम्म सक्ने तयारी छ। यद्यपि प्रतिवादीको तर्फबाट बहस गर्ने वकिलको संख्या अनुसार बहस कति दिनसम्म लम्बिन्छ भन्ने यकिन हुनेछ।
चैत १५ गते नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका 'जनकमाण्डर' प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
त्यस घटनामा सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा जेठ ११ गते मुद्दा दायर गरेको थियो।
५० जनाविरूद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। त्यसमध्ये दुर्गा प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग समेतमा मुद्दा दायर भएको थियो।
त्यसबाहेक ११ जनाविरूद्ध आपराधिक उपद्रवमा मात्रै मुद्दा दायर भएको थियो। उनीहरू सबै जना धरौटी बुझाएर छुटिसकेका छन्।
५० जनामध्ये ३९ जनामात्रै प्रहरीको सम्पर्कमा रहेकाले उनीहरूको प्रक्रिया अघि बढाइएको थियो।
उनीहरूको जेठ १२ गतेदेखि २० गतेसम्म बयान लिइएको थियो। त्यसपछि थुनछेक बहस जारी छ।
-1749536488.jpg)
-1749536488.jpg)
-1749536487.jpg)
-1749536487.jpg)
-1749536487.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी