गुजरातको राजधानी अहमदाबादबाट लन्डन उडेको जहाज पाँच मिनेटमै दुर्घटनाग्रस्त भएको छ। उक्त जहाज धावनमार्ग छोडेर केही उचाइ माथि जानेबित्तिकै बिस्तारै तल झर्न थालेको थियो।
जहाजको उचाइ घट्दै गएपछि वरपरका प्रत्यक्षदर्शीले भिडिओ खिचेका थिए। उक्त भिडिओका आधारमा जहाजले उचाइ लिन नसकेको र खसेर विमानस्थल नजिकको घरमाथि खसेको देखिन्छ।
त्यो घर डाक्टरहरूको आवासीय भवन भएको भारतीय मिडियाहरूले जनाएका छन्। घरमाथि जोतिनेतबित्तिकै ठूलो विस्फोटको आवाजसहित आगोलागी भएको थियो।
आगो लागेको र धुवाँको मुस्लो निस्किएको भिडिओ पनि प्रत्यक्षदर्शीहरूले कैद गरेका छन्।
चालक दलका सदस्यसहित २४२ जना रहेको उक्त जहाज दुर्घटना भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह अहमदाबादतर्फ लागेका छन्। उनीहरू दुवैको गृहराज्य गुजरात नै हो।
एयर इन्डियाले पनि विज्ञप्ती जारी गरेर दुर्घटनाको प्रारम्भिक जानकारी दिए पनि हताहतिबारे भने पुष्टि गरेको छैन।
घटनालगत्तै दुर्घटनास्थल आसपासको क्षेत्र खरानीले ढाकिएको थियो।
उद्धार टोली जहाजमा लागेको आगो निभाएर शव निकाल्न लागेका छन्। शव अहमदाबादको सरकारी अस्पतालमा राखिएको छ।
अस्पतालमा मृतकका आफन्तको भीड लाग्न थालेको छ।