नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ।
पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो। उनलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन्।
प्रत्यारोपण गर्दा कलेजो दाताको झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ताको १३ घण्टा समय लागेको थियो ।
भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसँग सहकार्य गरी नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको हो।
अस्पतालका कलेजो प्रत्यारोपण विभागका प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो। निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ।
'ईश्वर बहादुर कार्कीको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो। उनको कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो,' डा श्रेष्ठले भने, 'यस क्रममा उनी नेपालका अन्य अस्पताल र भारतमा पनि दुई पटक प्रत्यारोपणका लागि गएका थिए। उनको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुबै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ।'
कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ।
प्रत्यारोपण सर्जन डा.रामबाबु साहले बिरामीले धेरै अस्पतालमा धाइसकेको तथा लामो समय बितिसकेका कारण चुनौतीलाई आत्मसाथ गरी प्रत्यारोपण गरेको बताए।
उपचारका लागि दुईपटक भारत गए पनि मिर्गौला र कलेजो दुवै प्रत्यारोपण गर्नुपर्छ भनेपछि आफूहरू नेपाल मेडिसिटी आएको बिरामीका छोरा एवम् कलेजो दाता आयुष कार्कीले बताए।
'नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि हामी नेपाल मेडिसिटी अस्पतालमा परामर्शको लागि आयौं र कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यहीँ प्रत्यारोपण गर्ने निर्णय गरेका हौं,' उनले भने, 'नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनुपर्यो। यदि पहिले नै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुबै खर्च हुने थिएन।'
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतोले आफूहरूसँग सबै खाले प्रविधि र जनशक्ति भएकै कारण कलेजो प्रत्यारोपण गर्न सफल भएको बताए।
'हामीले नेपालीहरू उपचारका लागि विदेश जान नपरोस् भन्ने उद्देश्यले नै यो अस्पताल सञ्चालनमा ल्याएका हौं। त्यसैले यहाँका जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं,' उनले भने, 'अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शुल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ। अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जना भन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ।'
-1749729817.jpg)
-1749729817.jpg)
-1749729817.jpg)