रूकुम पश्चिममा भएको मिनी ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ। सहचालकको अवस्था गम्भीर छ।
दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका–१० का ४५ वर्षीय भूपेन्द्र महतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए।
भूपेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै घोराही–१० कै सहचालक ३४ वर्षीय सुन्दरकुमार बुढाको अवस्था पनि गम्भीर छ। डिएसपी विष्टका अनुसार उनलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज पठाउन सल्ले अस्पतालले रिफर गरिसकेको छ।
राप्ती राजमार्ग अन्तर्गत खलंगातर्फ पानीको जार बोकेर जाँदै गरेको रा १ क १४१२ नम्बरको मिनी ट्रक बेलुका सवा ६ बजेतिर त्रिवेणी गाउँपालिका–२ सिमरुतमा दुर्घटनामा परेको थियो।
पानीको जार बोकेको मिनी ट्रक सडकदेखि झन्डै २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। मिनी ट्रक दुर्घटना हुँदा विद्युतको पोल ढलेर बाटो बन्द भएको र खोल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।