अमेरिकामा गृहमन्त्री कृष्टी नोएमलाई प्रश्न गर्ने एक सिनेटरलाई सुरक्षाकर्मीले लछारपछार गरेका छन्।
क्यालिफोर्नियाका डेमोक्र्याट सिनेटर एलेक्स प्याडिलाले लस एन्जलसको संघीय भवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीलाई आप्रवासी नीतिको प्रभावबारे प्रश्न गर्न गरेका थिए।
प्याडिलाले प्रश्न सुरू गर्नेबित्तिकै त्यहाँ उपस्थित सुरक्षाकर्मीहरूले उनीलाई लछारपछार गर्न थालेका थिए।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले सार्वजनिक गरेको भिडिओमा सिनेटर प्याडिलालाई सुरक्षाकर्मीहरूले लछारपछार पार्दै बाहिर पुर्याएको देखिन्छ।
उनले आफू सिनेटर हुँ भन्दा पनि सुरक्षाकर्मीहरूले छाडेका थिएनन्। पत्रकार सम्मेलन भइरहेको कोठाबाट बाहिर निकालेर चार पाँच जना सुरक्षाकर्मीहरूले उनलाई प्यासेजमा लडाए र हतकडी लगाएका थिए।
यो घटनाले अमेरिकी राजनीतिमा ठूलो विवाद उत्पन्न गरेको छ। प्याडिलाले पछि पत्रकार सम्मेलनमा के भएको हो भनेर खुलाएका छन्।
उनले आफूले केवल आप्रवासी नीतिबारे प्रश्न गर्न खोजेको बताएका छन्।
'तर मलाई हतकडी लगाएर अपमानित गरियो। सिनेटरमाथि यो व्यवहार हुँदा सामान्य नागरिकमाथि कस्तो व्यवहार होला,' उनले भनेका छन्।
डेमोक्र्याट नेताहरूले यो घटनालाई 'लोकतन्त्रविरोधी' भन्दै कडा निन्दा गरेका छन्।
सिनेटका लिडर चक सुमरले ट्वीटमार्फत भनेका छन्, 'यो घटना हाम्रो स्वतन्त्रतामाथिको हमला हो।'
घटनापछि गृहमन्त्री नोएमले प्याडिलासँग १५ मिनेटको रचनात्मक कुराकानी भएको बताएकी छन्। , तर उनले हथकडीको घटनाबारे स्पष्ट जवाफ दिएनन्।
यो घटनाले आप्रवासन नीतिमाथिको बहसलाई थप तीव्र बनाएको छ।
लस एन्जलसमा हालैका दिनहरूमा आप्रवासन नीति र अध्यागमनले छापा मारेको विरुद्ध प्रदर्शनहरू तीव्र भएका छन्।
ट्रम्पले त्यहाँ २ हजार नेशनल गार्ड र सात सय नौसेना प्रयोग गरेका थिए। लस एन्जलसको डाउन टाउन क्षेत्रमा कर्फ्यु आदेश जारी छ। अहिलेसम्म त्यहाँ ८ सयभन्दा बढी पक्राउ परिसकेका छन्।