उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई रिहा गर्न माग गर्दै नेकपा बहुमतका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघरमा शुक्रबार दिउँसो पौने ४ बजे नेकपा बहुमतका केन्द्रीय सदस्य उषाकिरण कामीसहित केही व्यक्तिहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए। निषेधित क्षेत्र प्रवेश गर्न खोजेका सात जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
नियन्त्रणमा लिइएका व्यक्तिहरू अखिल क्रान्तिकारी विद्यार्थी संगठनका सदस्यहरू छन्।
संगठनका केन्द्रीय सदस्य सर्जन पाण्डे, केन्द्रीय सचिव हरि विष्ट, केन्द्रीय महासचिव किरण कामी, ललितपुर जिल्ला अध्यक्ष सक्षम विक, केन्द्रीय सदस्य झलक विक, काठमाडौं सदस्य सर्जन कामी र केन्द्रीय उपाध्यक्ष प्रमोद सिंह छन्।
बिहीबार वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारू इजलासमा बसिरहँदा नेकपा बहुमतका तीन जना कार्यकर्ताले मसी छ्यापेर दुर्व्यवहार गरेका थिए।
पक्राउ पर्नेमा सिरहाका ४८ वर्षीय गर्भु महतो, सर्लाहीका ४३ वर्षीय पदमबहादुर मगर र प्यूठान घर भई ललितपुर बस्ने ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर छन्। कुँवर पार्टीका केन्द्रीय सदस्य हुन्।
मगर जिल्लाका इन्चार्ज र महतो जिल्ला समिति सम्पर्क सदस्य रहेको खुलेको छ।
प्रहरीले उनीहरूमाथि अपमानजनक व्यवहार गर्न नहुने र विद्युतीय कारोबार ऐन अन्तर्गतको अनुसन्धान गर्ने तयारी गरेको छ।