दाङको तुलसीपुरबाट एक युवकको नगद लुटेर भागेकाहरु बाँकेमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ४ का २३ वर्षीय कुमार केसी, सोही वडाका २१ बर्षीय नन्दे भनिने शिरिस परियार, तुलसीपुर – ४ का १५ वर्षीय एक किशोर र तुलसीपुर – ३ का १५ बर्षीय अर्का किशोर रहेका छन् ।
बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरले उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार उनीहरुको साथबाट लागुऔषध पनि बरामद गरेको थियो।
यी चार जना उपर जेठ २९ गते राति साढे १० बजेतिर तुलसीपुर – ७ का २७ वर्षीय राजु चौधरीमाथि लुटपाट गरेको आरोप रहेको छ।
तुलसीपुर – ९ बेलुवा नजिक उनीहरुले चौधरीलाई रोकेर सुरुमा फोन गर्नु छ भन्दै नम्बर मागेका थिए।
चौधरीले दिएको जाहेरी अनुसार त्यसपछि अरु पनि त्यहाँ आइ उनलाई समातेर साथमा रहेको नगद ३९ हजार लगेर भागेका थिए। चौधरीले बिमाका लागि भनेर त्यो रकम साँचेर राखेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
उनीहरुले चौधरीको लाइसेन्स, ब्लुबुक तथा साथमा रहेको परिचय पत्र पनि खोसेर लगेका थिए।
यो घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको इप्रकाका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।