पर्यटन क्षेत्रमा काम गर्ने युवा पथप्रदर्शक सञ्जालले दुई दिने नेपाल पर्यटनसम्बन्धी अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्सँगको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
सञ्जालको बोर्ड गठनपछि आयोजित पहिलो कार्यक्रममा पर्यटन क्षेत्रमा सक्रिय २० भन्दा बढी युवाले सहभागिता जनाएका थिए।
चन्द्रागिरि नगरपालिका–१३ स्थित कालुपाण्डे डाँडामा सम्पन्न उक्त कार्यक्रममा, सञ्जालले सातै प्रदेशका पर्यटकीय स्थलहरूको प्रचार गर्ने, विदेशी पर्यटकलाई नेपाल भित्र्याउने तथा नेपाली युवालाई पर्यटन क्षेत्रमा आकर्षित गरी उनीहरूसँग सहकार्य गर्ने लक्ष्य रहेको जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै सञ्जालका अध्यक्ष अनुप सुवेदीले पर्यटनबाट युवालाई देशमै रोक्न सकिने सम्भावना रहेको भन्दै उनीहरूको तथ्यांक संकलन गरी निरन्तर यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले वर्तमान अवस्थामा धेरै युवा विदेशिन बाध्य भएको अवस्थामा आफ्नै मुलुकमा केही गर्ने चाहना राख्ने युवाका लागि यस्ता कार्यक्रम सहयोगी हुने धारणा राखे।
राष्ट्रिय युवा परिषद्का प्रशासनिक प्रमुख गेहनाथ गौतमले हाल परिषद् मातहत १२ देखि १४ वटा सञ्जाल क्रियाशील रहेको जानकारी दिँदै यस्ता कार्यक्रमहरूको उद्देश्य युवालाई प्रोत्साहन गर्नु रहेको बताए।