जेलबाट छुट्नेबित्तिकै पक्राउ परेका युनुस अन्सारीलाई उच्च अदालत पाटनमा उपस्थित गराउन आदेश भएको छ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विपक्षीका नाममा कारण देखाउ र लिखित जवाफ माग गर्ने आदेश गरेको छ।
युनुस अन्सारीले केन्द्रीय अनुसन्धान ब्युरो आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखासमेतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
त्यसमा आदेश दिँदै अदालतले भनेको छ, ‘कुनै आधार र कारण भए, सबुद प्रमाण र बन्दीसहित विपक्षी मिति २०८२/३/३ गते बिहान १० बजे उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत लिखित जवाफसाथ उपस्थित हुन आउनू।’
नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी जेठ १० गते नख्खु कारागार कार्यालयबाट छुटेका थिए। तर लगत्तै सिआइबीले थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो।
उनीमाथि सिआइबीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ।
२०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए। कतारबाट तीन जना पाकिस्तानी नागरिकलाई लिन जाँदा अन्सारी पक्राउ परेका थिए। त्यसअघि पनि युनुस नक्कली नोट प्रकरणमै समातिएका थिए। त्यतिबेला उनीमाथि कारागारभित्रै गोली प्रहार भएको थियो। तर उनी घाइते मात्रै भएका थिए।