इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ।
गएराति इरानले उत्तरी इसराइलको हाइफा बे मा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो।
इरानको हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।
इरानी हमलाबाट त्यस क्षेत्र आगोको लप्काले ढाकिएका भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। न्युयोर्क टाइम्सले तस्बिर र फोटो भेरिफाइ गरिएको बताएको छ।
आगलागी भएपछि मानिसहरू त्यहाँ अड्किएका थिए। बिहान ढिलासम्म पनि उनीहरूको उद्धार र आगो नियन्त्रणमा इसराइली अधिकारीहरू खटिएका थिए।
इरान र इसराइलले चार दिनदेखि एक-अर्कामाथि आक्रमण गरिरहेका छन्।
गएराति इसराइलले इरानका ८० ठाउँमा लक्ष्य गरेर आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ। आक्रमणमा परी २० जना उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र नागरिक गरी २२० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार २०० जनाभन्दा बढी घाइते भएका छन्।
इसराइलको आपतकाली सेवा मगेन डेविड एडम (एमडिए) आपतकालीन सेवाले गएराति इरानले इसराइलका चार स्थानमा लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ।
तेल अभिभलगायतका क्षेत्रमा धेरै भवनहरुमा क्षति पुगेको र अहिलेसम्म कम्तिमा १४ जना मारिएको बताइएको छ।
तेल अभिभबाट दक्षिणमा रहेको तटीय सहर बातयाममा शनिबार राति ठूला-ठूला भवनहरु ध्वस्त भएका छन्। त्यहाँ रहेका ६० भन्दा बढी भवनहरू कुनै न कुनै रूपमा क्षतिग्रस्त भएको बताइएको छ।
जबाफमा इसराइलले इस्लामिक रिभोलुसनरी गार्ड कोरको सैन्य संरचना कुर्द्स फोर्सको कमान्ड सेन्टरमै लक्ष्य गरेर हमला गरेको जनाएको छ। तेहरानमा रहेको कमान्ड सेन्टरमा केही क्षति भएको बताइएको छ।
युरोपेली र मध्यपूर्वका देशहरूले दुवैलाई आक्रमण रोक्न आग्रह गरेका छन्। आक्रमण जारी रहे यसले क्षेत्रीय तनाव फैलाउने र अन्य देशहरू पनि संलग्न हुनसक्ने खतरा निम्त्याउने विश्लेषण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार सम्बन्धी वार्तामा आउन अनुरोध गरिरहेका छन्।