मकवानपुरमा होटलको छतबाट खसेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
सोमबार हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित रोशन होटल एण्ड लजको तेस्रो तलाको रेलिङबाट खसेर गम्भीर घाइते भएका एक जना पुरूषको उपचारको क्रममा मृत्यु भएको हो।
मृतक पदमपोखरी घर भएका अन्दाजी ३० वर्षीय अमित मोक्तान हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार उक्त होटलमा ममता प्रजा काम गर्थिन्। उनका श्रीमान अमित मोक्तान होटलमा जाँदा रेलिङबाट खसेको प्रहरीले जनाएको छ।
मोक्तानलाई श्रीमती ममता र होटलका सञ्चालकले हेटौंडा अस्पतालमा उपचारको लागि लगेका थिए।
उपचारको क्रममा मध्यराति उनलाई थप उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएको थियो। त्यहाँ २ बजेतिर चिकित्सकले मृत घोषणा गरेको डिएसपी अर्यालले बताए।
शव सोही अस्पतालको शव गृहमा राखिएको छ।