अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
स्रोत नखुलेको कारोबार देखिएपछि अधिकृत कमलराज गौतमविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनले सार्वजनिक पद धारण गरेको २०५५ वैशाख ७ देखि २०७९ चैत २४ गतेसम्म भएको कारोबारमा २ करोड ५१ लाख ७८ हजार ६८७ रूपैयाँको स्रोत नखुलेपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
उनकाअनुसार अधिकृत गौतमको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घर/जग्गा बिक्री आय, बीमालगायत सम्पूर्ण आय २ करोड ८९ लाख २० हजार २३६ रूपैयाँ देखिन्छ।
तर सोही समय अवधीमा ५ करोड ४० लाख ९८ हजार ९५५ रूपैयाँ बरारको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ। उक्त रकममा २ करोड ५१ लाख ७८ हजार ६८७ रूपैयाँ स्रोत नखुलेको अख्तियारको आरोप छ।
स्रोत नखुलेको रकम बराबरको बिगो माग गर्दै अख्तियारले उनीविरूद्ध कानुनी कारबाही माग गरेको छ।