स्याङ्जाको आँधीखोला बचाउ अभियान चलाएका अभियन्तामाथि वालिङ– १० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरेका छन्।
आँधीखोला बचाउ अभियान चलाएका नदी संरक्षण अभियन्ता मेघ आले र वालिङका स्थानीय दिनकर नेपालमाथि वडाध्यक्ष खनालले रड प्रहार गरेका हुन्। अभियन्ता नेपालका अनुसार वडाध्यक्ष खनालले उनीहरुलाई यसअघि पनि धम्की दिएका थिए ।
‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने,’ उनले भने, ‘मैले रड हातले छेक्दा हातमा लागेको छ, हेल्मेट पनि फुटेको छ।’
आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए।
कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेका कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।
आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकै मिलोमतोमा गैरकानुनी दोहन भएको भन्दै उनीहरूले आँधीखोला बचाउ अभियान थालेका थिए।
अभियन्ता आले र नेपालविरूद्ध रड प्रहार गरेको आरोप लागेका वडाध्यक्ष खनालसँग यस विषयमा बुझ्न फोन र म्यासेज गर्दा उनी सम्पर्कमा आएनन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले घटनाका विषयमा बुझ्न इन्स्पेक्टरको कमाण्डमा ९ जना प्रहरी खटाइएको जानकारी दिए।
‘हामीले इन्स्पेक्टरको कमाण्डमा ९ जना प्रहरी खटाएका छौं, उहाँहरू घटनास्थलमै हुनुहुन्छ,’ उनले भने, ‘यसबारे बुझेर कारबाही गर्छौं।’