काठमाडौंको गौशालास्थित माइती नेपालको कार्यालयमा सोमबार साँझ एक जना महिलासहित केही व्यक्तिहरू आइपुगे।
कार्यालय समय सकिसकेकाले सबै कर्मचारी घर फर्किने तरखरमा थिए। त्यही बेला ती महिला बारम्बार गुहार मागिरहेकी थिइन्।
आफ्नी १३ वर्षीया छोरी घरबाट बेपत्ता भएको भन्दै खोज्नका लागि उनीहरू मद्दत माग्न त्यहाँ पुगेका हुन्।
सिफल बस्ने उनीहरू सुरूमा प्रहरी वृत्त गौशाला गएका थिए। तर खोजीका लागि माइती नेपालले पनि सघाउने भएपछि उनीहरू त्यहाँ पुगेका थिए।
‘उहाँहरू गौशाला प्रहरी कहाँ पुग्नुभएको थियो। त्यहाँबाट माइती नेपाल आउनुभयो,’ माइती नेपालमा कार्यरत उमा तामाङले भनिन्।
त्यसपछि तामाङले बालिकाको नाम, उमेर, ठेगाना, फोटो लिएपछि तत्कालै आफ्नो सबै च्यानलमा परिपत्र गरिएको थियो।
उनले बालिकाको तस्बिर माइती नेपालको फेसबुक ग्रुपमा पनि हालेकी थिइन्।
सोमबार बिहान ५ बजे तामाङलाई फोन आयो।
ती बालिका रक्सौलमा देखा परेको भन्दै तामाङलाई फोन आएको थियो।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ती बालिकालाई रोकेर राखेको थियो। तर उनीसँगै अर्का एक जना पुरूष पनि साथमा थिए।
उक्त खबरपछि वीरगन्जस्थित माइती नेपालकी संयोजक गोमा पौडेल र सीमा निरगानीकर्ता लक्ष्मीकुमारी राना मगर बालिका भएको ठाउँमा पुगेका थिए।
‘बालिका हो कि होइन भनेर बुझ्नका लागि हाम्रो टिम त्यहाँ पुगे। एसएसबीले बिहान ४ बजे नै रोकेका रहेछन्,’ उनले भनिन्।
माइती नेपालको पर्सा संयोजक गोमा पौडेलका अनुसार बालिकाको सुरक्षित रूपमा उद्धार भएको छ।
बुधबार बिहान उनको परिवारसँग भेट पनि भइसकेको छ।
भारतीय सीमा सुरक्षा बलले २१ वर्षीय शैफ आलमलाई पक्राउ गरी हरैया थानामा बुझाएको छ। उनीमाथि भारतीय प्रहरीले नै अनुसन्धान गर्ने भएपछि बालिका र उनको परिवार पनि हाल विहारको मोतिहारीमा छन्।
पौडेलले बालिकासँग प्रारम्भिक सोधपुछ गर्दा आलमलाई सामाजिक सञ्जालमा चिनेको बताएकी छन्।
उनीहरू दुई जनाको भेट सामाजिक सञ्जाल ‘स्टार मेकर’ मार्फत भएको थियो। उक्त एप चिनेका वा नचिनेका व्यक्तिहरूसँग गीत गाउन मिल्ने प्लेटफर्म हो।
एक वर्ष अघि नै उनीहरूबीच त्यस एपमार्फत् चिनजान भएको थियो।
‘त्यही गीत गाउने प्लेटफर्ममार्फत चिनजान भएको रहेछ। बीचमा युवक काठमाडौंमै आएर एकपल्ट भेटेका पनि रहेछन्,’ पौडेलले भनिन्, ‘त्यतिबेला भेटेर युवक फर्किए।’
आलम फेरि गत आइतबार काठमाडौं आइपुगे।
त्यसदिन दिउँसो उनीहरूबीच सामान्य भेट भयो। आलमले ‘प्रेम गर्छु’ भन्दै बालिकालाई फकाए।
भोलिपल्ट (सोमबार) भने आलमले ती बालिकालाई भागेर भारत जाने प्रस्ताव राखेका थिए।
‘बालिका दिउँसो २ बजेतिर घरबाट भागेकी रहिछिन्। त्यहाँबाट उनीहरू रात्रीबस चढेर हेटौंडा पुगे, त्यहाँबाट अर्को बस चढेर वीरगन्जको बसपार्कसम्म आइपुगेका रहेछन्,’ पौडेलले भनिन्, ‘आलम मोतिहारीकै हुन्। उनले बालिकालाई रक्सौलमा केही दिन बस्ने र त्यहाँबाट दिल्ली जाने भनेर बताएका रहेछन्।’
माइती नेपालले बालिका र आलमलाई नियन्त्रणमा लिएको थाहा पाएपछि कानुनी प्रक्रियाका लागि नेपाल नै फिर्ता ल्याउन खोजेको थियो। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले यसबारेमा इन्डियन प्रहरीसँग कुराकानी एवं छलफल गरेकी थिइन्। साथै भारतको मानव तस्करी रोधी इकाईका प्रमुख विकास कुमारसँग पनि समन्वय गरिएको थियो।
तर भारतीय प्रहरीको नियन्त्रणमा आइसकेको भन्दै भारतमै मुद्दा चलाउने गरी निर्णय भएको थियो।
आलमलाई अहिले हरैया थाना राखिएको छ। त्यहाँ आलममाथि मानव बेचबिखन तथा ओसारपसार र अपहरणको मुद्दामा अनुसन्धान अघि बढाएको छ।
आलमलाई बुधबार अदालतमा समेत उपस्थित गराइएको छ।
‘बालिकाको र आमाबुवाको भेट भइसकेको छ। उहाँहरू त्यहाँको काम सकेर फर्किनुहुन्छ,’ पौडेलले भनिन्।