इसराइल र इरानबीच भीषण युद्ध चलिरहेका बेला इसराइलमा अड्किएका विराटनगर महानगरका मेयर नागेश कोइराला घर आइपुगेका छन्।
बिहीबार राति उनी विराटनगर आइपुगेका हुन्। इसराइल सरकारको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका लागि जेठ २६ मा इसराइल पुगेका मेयर कोइराला उतै फसेका थिए।
मेयर कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार कोइराला स्थलमार्गबाट जोर्डन गएर त्यहाँबाट विमानमार्फत कुवेत, भारतको मुम्बई, नयाँ दिल्ली हुँदै बिहीबार दिउँसो साढे ४ बजे काठमाडौं उत्रिएका थिए।
काठमाडौंबाट साँझको विमानमा विराटनगर आइपुगेको उनका प्रेस संयोजक मिनकुमार श्रेष्ठले जानकारी दिए।
युद्धग्रस्त इसराइलको सेफाइम भन्ने ठाउँमा मेयरसहित अन्य देशका जनप्रतिनिधि बसिरहेकै बेला गत साता इसरायलले इरानमा हमला गरेको थियो।
१० दिने भ्रमणमा गएका मेयर कोइराला त्यहाँ पुगेको तीन दिनपछि युद्ध सुरू भएको थियो। इरानले पनि जवाफी हमला सुरू गरेपछि उनी अड्किएका थिए। बंकरमा लुक्दै बस्दै गरिरहेका मेयरलाई नवौं दिन स्थलमार्ग हुँदै जोर्डन पठाइएको थियो।