अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइल–इरान युद्धमा अमेरिका सहभागी हुनेबारे विचार गर्दै गर्दा युरोपेली देशहरूले भने वार्तामा जोड दिएका छन्।
इरानको आणविक हतियार कार्यक्रम रोक्न इसराइलले गत साता गरेको हमलामा अमेरिका पनि जोडिए सो युद्ध मध्यपूर्व भर फैलिने खतरा छ।
उसो त ट्रम्पले पनि इरानलाई वार्तामा आउन आग्रह गरिरहेका छन्। तर इरानले विनाशर्त आत्मसमर्पण गर्नुपर्ने उनको जिकिर छ।
इसराइलबाट लगातार प्रहार खेपिरहेको इरानले पनि वार्ता गर्ने सन्देश पठाइरहेको छ। तर ट्रम्पले खोजे जस्तो आत्मसमर्पण गर्न इरानले अस्वीकार गरिरहेको छ।
यस्तो माहोलमा इसराइल र अमेरिका दुवैसँग राम्रो सम्बन्ध भएका बेलायत, फ्रान्स र जर्मनीले शुक्रबार इरानसँग वार्ता गर्दैछन्। तीन युरोपेली देश र इरानका विदेश मन्त्रीहरूले समस्याको कूटनीतिक समाधान निकाल्नका लागि स्वीट्जरल्याण्डको जेनेभामा वार्ता गर्दैछन्।
अमेरिका इसराइल–इरान युद्धमा सहभागी हुने कि नहुने निर्णय गर्न ट्रम्पले बिहीबार दुई हप्ताको समय तोकेका छन्। त्यसको भोलिपल्ट युरोपेली देशहरूले इरानसँग वार्ता गर्न लागेका हुन्।
इसराइलले गत साता इरानको आणविक हतियार कार्यक्रम रोक्न हमला गरेपछि दुई देशले एकअर्कामाथि लगातार आक्रमण गरिरहेका छन्।
इसराइलले पछिल्ला केही दिनमा इरानको नतान्ज लगायत अन्य केही ठाउँमा रहेका आणविक भट्टीमा प्रहार गरेर नोक्सान पुर्याएको छ। तर फर्दो भन्ने ठाउँमा पहाडभन्दा सयौं फिट तल बलियो बंकरमा बनाइएको भट्टीमा नोक्सान पुर्याउन सकेको छैन।
फर्दोको भट्टी ध्वस्त पार्न इसराइलले अमेरिकाको सहयोग मागेको छ।
आणविक हतियार प्रयोग नगरी त्यहाँको भट्टी ध्वस्त पार्ने क्षमता अमेरिकासँग मात्र रहेको मानिन्छ। त्यसका लागि अमेरिकाले आफूसँग रहेको झन्डै १४ टन क्षमताको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्ने हुन्छ। यो बंकर ध्वस्त पार्ने सामर्थ्य भएको 'बंकरभेदी' बम हो।
यही बम पनि एउटा मात्र हानेर पुग्दैन। एकै ठाउँमा धेरैवटा यस्ता बम लगातार प्रहार गरेपछि मात्र भट्टी ध्वस्त पार्न सकिने विज्ञहरूले बताएका छन्।
यो बम बोक्न सक्ने बमवर्षक विमान पनि इसराइलसँग छैन। यसका लागि अमेरिकाको अत्याधुनिक बी–२ बमवर्षक विमान प्रयोग गर्नुपर्छ। यही विमानले मात्र बंकरभेदी बम बोकेर प्रहार गर्न सक्छ। त्यसैले इसराइलले फर्दोको भट्टी ध्वस्त पार्न अमेरिकासँग मद्दत मागेको हो। ट्रम्प त्यसका लागि तयार रहेको मानिन्छ। तर अमेरिकाले अझै हमला गरेको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)