एक साताभन्दा बढी समयसम्म आक्रमण गर्दा पनि इसरायले इरानका आणविक परियोजनामा सफलता प्राप्त गर्न नसकेपछि अन्तत: अमेरिका मध्यपूर्वको युद्धमा होमिएको छ।
इसरायलको आक्रमणले इरानी आणविक कार्यक्रममा खासै धेरै क्षति पुर्याउन नसकेको आकलनपछि अमेरिका आफै युद्धमा होमिएको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बताएको छ।
‘इसरायलको आक्रमणले इरानको परमाणु बम बनाउने क्षमतालाई जम्मा ६ महिना जति मात्र धकेलेको अमेरिकाको आकलन छ,’ टाइम्सले लेखेको छ।
पटक पटकको आक्रमणपछि पनि इरानको परमाणु कार्यक्रण ध्वस्त पार्न नसकेपछि इसराइलले अमेरिकालाई इरानमाथि आक्रमण गर्न पछिल्लो हप्ता बारम्बार आग्रह गरेको थियो।
इरानलाई कुनै पनि हालतमा परमाणु बम बनाउन नदिन अमेरिका र इसराइलले लामो समयदेखि प्रयास गर्दै आएका थिए। धेरै बर्षदेखि अमेरिकाको जोड वार्ता र कुटनीतिमा थियो भने इसराइल आक्रमणबाट मात्र इरानलाई वार्ता गर्न र सहमतिमा पुग्न बाध्य पार्न सकिने पक्षमा थियो।
विदेशी भूमिमा अमेरिकी युद्ध लामो समयदेखि विरोध गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई मध्यपूर्वको युद्धमा संलग्न गराउने वा नगराउने विषयमा केही समयदेखि दोमनमा देखिएका थिए।
ट्रम्पले आफू सक्रिय राजनीतिमा नआउँदा देखि नै विदेशी भूमिमा हुने युद्धमा अमेरिका संलग्न हुने कुराको विरोध गर्ने गरेका थिए। उनले सन् २००४ मा अमेरिकाले इराकमाथि गरेको आक्रमणको पनि विरोध गरेका थिए।
गएको राष्ट्रपति निर्वाचनमा पनि उनले रुस-युक्रेन युद्धमा अमेरिका परोक्ष रुपमा संलग्न रहेकामा विरोध गरेका थिए। आफू राष्ट्रपति निर्वाचित भए २४ घन्टाभित्र सो युद्धको अन्त्य गर्ने उनले घोषणा गरेका थिए। इरानलाई परमाणु बम बनाउन दिन नहुने पक्षमा भने ट्रम्प सधैँ उभिदै आएका थिए।
यो पृष्ठभूमिमा ट्रम्पले गएराति इरानका तीनवटा आणविक परियोजनामा आक्रमण गर्न अमरिकी सेनालाई निर्देशन दिएका थिए।
अमेरिकी वायु सेनाले आफूसँग रहेका १९ मध्ये ६ वटा आधुनिक र शक्तिशाली बि-२ बमवर्षक विमान प्रयोग गरेर इरानको फर्दो आणविक केन्द्रमा ६ वटा पहाड छेड्ने सक्ने शक्तिशाली बम खसालेको थियो। ती प्रत्येक बम ३०,००० पाउण्ड भारका भएको पनि टाइम्सले जनाएको छ।
यस्तो शक्तिशाली बम अमेरिकासँग मात्र छ र यो बम खसाल्न प्रयोग हुने अत्याधिनुक बि-२ बमवर्षक जहाज पनि अमेरिकासँग मात्रै छ।
अमेरिकी सेनाले फर्दोबाहेक नतान्जमा पनि दुईवटा त्यस्ता बम खसालेको न्युयोर्क टाइम्सले जनाएको छ। सुरुमा फर्दोमा मात्र यी बम खसालिएको विश्वास गरिएको भए पनि नतान्जमा पनि दुइटा बम खसालिएको सूचना बाहिर आएका छन्।
अमेरिकी सेनाले नतान्जसँगै इरानको आणविक परियोजना रहेको अर्को ठाँउ इस्फहानमा पनि सबमरिन (पण्डुब्बी) बाट ३० वटा टमाहक क्रुज मिसाइलले आक्रमण गरेको छ। टमहक जमिनमा आक्रमण गर्ने शक्तिशाली अमेरिकी मिसाइल हुन्। यी मिसाइल समुन्द्रमा रहेका जहाज वा पानीमुनि तैरिने सबमरिनबाट पनि प्रहार गर्न सकिन्छ। १६ सय किलोमिटर टाढासम्म प्रहार गर्न सकिने यी मिसाइल जमिनभन्दा केही माथिमात्र उड्ने हुनाले शत्रुपक्षका रडारले देख्न सक्दैन।
यी आक्रमणपछि इरानको आणविक परियोजना पूर्ण रुपमा ध्वस्त भएको अमेरिकाले दाबी गरेको छ। 'परमाणु सुविधाहरू पूर्ण रूपमा नष्ट भएका छन्,' राष्ट्रपति ट्रमले सम्बोधनमा भनेका छन्, 'आक्रमणको उद्धेश्य इरानको परमाणु संवर्धन क्षमता नष्ट गर्नु र विश्वको नम्बर एक आतंकवाद प्रायोजक राष्ट्रबाट उत्पन्न परमाणु खतरा रोक्नु थियो।'
ट्रम्पले अब शान्तिको समय भएको पनि बताएका छन्। तर इरान त्यसतर्फ नलागे अझै सशक्त आक्रमण गर्ने पनि चेतावनी दिएका छन्।
'अब मध्यपूर्वमा शान्ति कामय गर्नुपर्छ। यदी इरान त्यसमा तयार भएन भने भविष्यका आक्रमणहरू ठूलो हुनेछ। र त्यो आक्रमण थप सजिला हुनेछन्,' ट्रम्पले भनेका छन्।
अमेरिकी उदेश्य फत्ते गर्ने बि-२ बमवर्षक जहाज र बंकरभेदी बम के हुन्? यसले कसरी काम गर्छ?
अमेरिकासँग भएका बि-२ बमवर्षक स्पिरिट स्ल्थित जहाज संसारकै सबैभन्दा शक्तिशाली जहाज मानिन्छन्। अमेरिकासँग १९ वटा यस्ता जहाज छन्। अमेरिकी सरकारले सुरुमा १३२ वटा बि-२ बमवर्षक बनाउने योजना बनाएको थियो। तर सन् १९८९मा शोभियत रुसको पतन र शितयुद्धको अन्त्यपछि २१ वटा यस्ता जहाज निर्माण गरेको थियो। यी जहाज अत्यन्नत महंगा हुन्छन्। एउटा जहाजको लागत दुई अर्ब डलरभन्दा बढी भएको अनुमान छ। दुईटा बि-२ बमवर्षक दुर्घटनामा परेपछि अमेरिकासँग अहिले १९ वटा मात्र यस्ता जहाज छन्। अमेरिकाको मिसौरी राज्यमा राखिने यी जहाजहरु अमेरिकाको ग्लोबल स्ट्राइक कमान्डले प्रयोग गर्छ।
बि-२ बमवर्षकको सबैभन्दा ठूलो विशेषता भनेको यसको 'स्टिल्थ' अर्थात् अदृश्य हुने क्षमता हो। यसको अनौठो 'उड्ने पखेटा'का कारण यो जहाज दुश्मनको राडारमा लगभग अदृश्य हुने जनाइएको छ। ५० हजार फिट सम्मको उचाइमा उड्न सक्ने यो जहाजलाई अरुले पत्ता लगाउन र निशाना बनाउन कठिन हुन्छ। एक पटक इन्धन भरेपछि यो जहाजले करिब ११,००० किलोमिटर सम्म उडान भर्न सक्छ। र यसमा हावामा नै इन्धन भर्ने सुविधा छ जसका कारण संसारको जुनसुकै ठाँउमा गएर पनि यसले आक्रमण गरेर अमेरिका फर्कन सक्छ। यो जहाजले परमाणु र अन्य सबै खाले बम बोक्न सक्छ।
बि-२ बमवर्षक अमेरिकी सेनाको एक मात्र यस्तो विमान हो जसले इरानमा गएराति खसालिएको ३०,००० पाउन्ड (करिब १३,६०० किलोग्राम) तौलको ‘बंकर बस्टर’ बम बोक्न र प्रहार गर्न सक्छ। यो बम जमिनभित्र रहेका अत्यन्तै बलिया र सुरक्षित सैन्य संरचनाहरू नष्ट गर्न बनाइएको हो।
त्यो बमले कसरी गर्छ काम?
आफूले नगरेको कामको पनि जस लिने बानी भएका ट्रम्पले यो बम आफ्नो पालामा बनाएको दाबी गरेका छन्। तर 'फाइनान्सियल टाइम्स' का अनुसार बम ट्रम्पको पालामा बनाइएको होइन।
सन् २००३ मा इराकमाथि आक्रमण गर्दा त्यति बेला अमेरिकासँग रहेको सबभन्दा शक्तिशाली बमले पनि इराकका केही बंकर भत्काउन सकेको थिएन। तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले अझ शक्तिशाली बम बनाउन आदेश दिएका थिए। त्यही आदेशपछि अमेरिकाले यो बम बनाएको हो।
सन् २००७ मा पहिलोपटक परीक्षण गरिएको यो बम सुरूमा २० वटा बनाइएको थियो। त्यसपछि केही सुधार गरिएको भए पनि अहिलेसम्म युद्धमा प्रयोग भएको छैन।
बमको वजन ३० हजार पाउन्ड (करिब १३.६ टन) छ। तर करिब ८० प्रतिशत वजन धातुको खोलले ओगट्छ। भित्र रहेको विस्फोटक पदार्थको वजन २० प्रतिशत मात्र छ। विशेष खालको अत्यन्तै बलियो स्टिलको खोल भएको यो बम धेरै माथिबाट खसालिन्छ। बमको वजन र उचाइका कारण उत्पन्न हुने शक्तिले अत्यन्तै बलियो र बाक्लो कंक्रिटको बंकर पनि छेड्न सक्छ भनेर बेलायती पत्रिका 'द इकोनोमिस्ट' ले लेखेको छ।
बममा जडित प्रविधिका कारण बाक्लो कंक्रिट छेडेर खाली ठाउँमा पुगेपछि विस्फोट हुन्छ। यसले धेरै गहिरा बंकर पनि ध्वस्त पार्छ। कंक्रिटको छतमुनि धेरै तलाको संरचना बनाइएको छ भने तीमध्ये कुन तलामा पुगेपछि बम विस्फोट हुने भनेर निर्धारण गर्न मिल्छ।
भूमिगत सैन्य बंकर बनाउन प्रयोग हुने सामान्य खालको कंक्रिट करिब ६० मिटर (करिब २०० फिट) बाक्लो भए पनि यो बमले छेड्न सक्ने मानिन्छ। तर इरानले पछिल्ला केही वर्षमा अझ बलियो कंक्रिट बनाउने प्रविधि विकास गरेको मानिँदै आएको छ। फर्दोको बंकर पनि त्यही बलियो कंक्रिटले बनेको हो भने यो बमले ६० मिटरसम्म छेड्न सक्दैन। अमेरिका आफैले पनि धेरै बलियो कंक्रिट बनाएको छ।
फर्दोको बंकर कुन गुणस्तरको कंक्रिटले बनेको हो भन्ने यकिन नभएकाले पनि यो बमले कति छेड्छ भन्ने टुंगो नभएको हो।
उदाहरणका लागि — सैन्य बंकर बनाउन प्रयोग हुने सामान्य खालको कंक्रिटले हरेक वर्गइन्चमा करिब पाँच हजार पाउन्डको शक्ति धान्छ भनिन्छ। दस हजार पाउन्डको शक्ति धान्ने कंक्रिट भने यो बमले करिब आठ मिटर मात्र छेड्न सक्ने मानिन्छ।
यो बमले फर्दोको बंकर कति मिटरसम्म छेड्छ भन्ने अमेरिकी सैन्य अधिकारीहरूलाई नै थाहा छैन। त्यही भएर उनीहरूले ट्रम्पलाई ठोकुवा गरेर फर्दोको बंकर ध्वस्त पार्न सकिन्छ भन्न सकेका छैनन्।
फेरि यो बम जिपिएस प्रविधिमा आधारित छ। यो प्रविधिलाई निस्क्रिय पनि पार्न सकिन्छ। अहिले इरानी आकाशमा इसराइलको पूर्ण नियन्त्रण छ।