ललितपुरमा दुई पक्षबीच झडप (ग्याङ फाइट) हुँदा दुई जना घाइते भएका छन्।
आइतबार अपराह्न ४ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर ४ विष्णुदेवी मन्दिर स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
झडपमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको परिचय खुलाएको छैन।
धारिलो हतियार प्रहारबाट महोत्तरी घर भई ललितपुर-३ धोबिघाट बस्ने ३० वर्षीय रञ्जीत मगर र कैलाली घर भई विष्णुदेवी मन्दिर नजिकै बस्ने २६ वर्षीय खगेन्द्र बयक घाइते छन्।
एसपी जोशीका अनुसार मगरको पेटमा चोट लागेको छ। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।
खगेन्द्रको भने नाकमा चोट लागेको हो। उनी बोल्न सक्ने अवस्थामा छन्।
‘घाइते हुनेहरू दुइटा छुट्टाछुट्टै समूहका हुन्। दुईवटा समूहबीच झडप हुँदा घाइते भएका हुन्,’ एसपी जोशीले भने।
हाल पक्राउ परेका एक जना रञ्जीतको पक्ष र अर्का खगेन्द्र पक्षका हुन्।
उनीहरूले कैँची प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान भइरहेको हुँदा अन्य नखुलेको एसपी जोशीले बताए।
दुई वटा समूहबीच शनिबार पनि सामान्य विवाद भएको थियो। विवाद भएपनि झडपको स्थितिमा भने पुगेको थिएन।
उनीहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।