महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले धादिङ धुनिवेशी नगरपालिका खानीखोलाबाट आरोपितलाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
पक्राउ पर्नेमा विहार बेतिया सरिसो बजार, सुनलपट्टीका २० वर्षीय अम्मरनाथ कुमार छन्।
उनले एक जना महिलालाई सामाजिक सञ्जालमा साथी बनेर कुराकानी गरेका थिए। कुराकानी गर्नेक्रममा ती महिलाको अश्लिल तस्बिर र भिडिओ पीडितलाई थाहा नदिई रेकर्ड गरेको आरोप उनीमाथि छ।
यसरी खिचेको तस्बिर/भिडिओलाई पछि उनले नक्कली फेसबुक खाता बनाएर पीडितको परिवारलाई पठाएको आरोप छ।
यसरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले कुमारलाई पक्राउ गरेको हो।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ।