बाढी–पहिरोका कारणले देशभरका मुख्य ३ वटा राजमार्ग पूर्ण अवरूद्ध भएका छन्।
केन्द्रीय प्रहरी कार्यालयले मंगलबार पौने ११ बजे जारी गरेको सूचना अनुसार तीन वटा मुख्य सडक पूर्ण अवरूद्ध भएका हुन्।
प्रहरीको तथ्यांक अनुसार गुल्मीको कालिगण्डकी करिडोर राजमार्ग पूर्ण अवरूद्ध भएको छ। कालिगण्डकी गाउँपालिका-१ गरगरेमा पहिरोले क्षति पुर्याएपछि सडक अवरूद्ध भएको हो।
रूकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड सोमबारदेखि नै पूर्ण अवरूद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, आठबिसकोट नगरपालिका-६ रिजिगारमा आएको बाढीले उक्त राजमार्ग मंगलबार बिहान पौने ११ बजेसम्म खुल्न नसकेको केन्द्रीय प्रहरी कार्यालयको सूचनामा छ।
त्यस्तै, डोल्पाको भेरी करिडोर राजमार्ग पनि पूर्ण अवरूद्ध छ।
त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा बाढीको बाढीले क्षति पुर्याउँदा असार ४ गतेदेखि उक्त सडक सवारी साधनको आवतजावत बन्द छ। ६ दिन बितिसक्दा पनि उक्त मुख्य राजमार्ग खुल्न नसकेको केन्द्रीय प्रहरी कार्यालयले सूचना जारी गरेको छ।
