कोरोना संक्रमित इलाम सूर्योदय नगरपालिकाकी एक महिलाको उपचारका क्रममा मंगलबार विराटनगरमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले दिएको जानकारी अनुसार इलामकी ४१ वर्षीया ती महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन्।
सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो।
उनको शव परिवारले बुझिसकेको प्रहरीले जानकारी दिएको छ। कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये एक जनाको ज्यान गएको हो।
नोबेलमा उपचारका लागि आएकी महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको र उनी एक साताभन्दा लामो समयदेखि बिरामी रहेको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिएका छन्।