टिकटकर रमा बस्नेतलाई अदालतले ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
उनीमाथि प्रधानमन्त्री र गृहमन्त्रीविरूद्ध अभिव्यक्ति दिएको आरोप थियो।
विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो।
उनीविरूद्ध गृह मन्त्रालयले अनुसन्धान गर्न पत्र लेखेको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर प्रहरीले जाहेरीकर्ताको परिचय गोप्य राखिने बताएको थियो।