दाङमा ट्रकले किचिएर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।
मृतक त्रिवेणी गाउँपालिका–३ का ३२ वर्षीय गोपीलाल वली हुन्। उनी मातेर ट्रकमुनि टायरसँगै लडेका थिए। चालकले नदेखी ट्रक चलाउन खोज्दा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घोराहीबाट बिहीबार रोल्पाको लिङ्दुङतर्फ रा १ ख ३२२२ नम्बरको ट्रक तरकारी लिन जाँदै थियो। चालक रोल्पाकै लुंग्री गाउँपालिका–३ का २७ वर्षीय मिलन घर्ती थिए।
त्रिवेणी गाउँपालिका–४ निगालपानी बजारमा पुगेपछि मिलनले चिया–नास्ता खान ट्रक छेउ लगाएर रोके।
बिहान सवा ११ बजेतिर खाजा खाइसकेर उनले सरासर ट्रक चलाए। तर गाडी सजिलै अगाडि बढेन। टायरमा केही अवरोध भयो। उनले जोड लगाए। तैपनि ट्रक अगाडि बढ्न सकस भयो।
त्यही बेला उनले कोही कराएको आवाज सुने। के भएको रहेछ भनेर ओर्लिएर हेर्दा मिलन झस्किए। उनले एक व्यक्ति टायरमुनि च्यापिएको देखे।
गोपीलाल वली मदिरा सेवन गरी ट्रकको टायरमै गएर बसेका रहेछन्।
चक्काले च्यापिएकाले उनको बायाँ खुट्टामा गहिरो घाउ थियो। मिलनले उनलाई उपचारका लागि नेर्पाको स्वास्थ्य चौकी पुर्याए।
गोपीलालको बायाँ खुट्टा र ढाडको हड्डी भाँचिएको थियो।
उनलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो। त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।