अर्घाखाँचीमा भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन्।
शितगंगाको पाखापानीका ३२ वर्षीय बमबहादुर बादीको हत्या भएको हो। हत्या आरोपमा उनकै ४२ वर्षीय दाइ विष्णु भनिने टेकबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्र मल्लले जानकारी दिए।
दाजुभाइबीच लामो समयदेखि नै विवाद रहँदै आएको प्रहरीको भनाइ छ।
बिहीबार साँझ दुबै जनाले मदिरा सेवन गरेका थिए। त्यहीबेला उनीहरूको विवाद सुरू भएको हो।
विवाद बढ्दै गएपछि विष्णुले भाइको टाउकोमा बन्चरो प्रहार गरेको डिएसपी मल्लले बताए। बन्चरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका बमबहादुरलाई स्थानीयले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगेका थिए। उनको उपचारको क्रममा मध्यराति १ बजेतिर मृत्यु भएको हो।
मृतक बमबहादुर अविवाहित हुन्। विष्णु बहादुरका श्रीमती र छोराछोरी छन्।
घटनापछि विष्णुबहादुर फरार थिए। उनलाई राति नै प्रहरीले पक्राउ गरेको थियो।