रसुवाबाट फेरि भोटेकोशी नदीमा बाढीको आवाज भएपछि अन्य जिल्लाका तटीय क्षेत्रमा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ।
आइतबार बिहान अन्दाजी ४ बजेदेखि बाढीको बहाव बढेको आवाज सुनिएको महाशाखाले जनाएको छ।
यसकारण अहिलेलाई रसुवा, नुवाकोट, धादिङसम्मका नदी आपसापका क्षेत्रमा सतर्कताको अपील भएको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले पनि अँध्यारोका कारण बाढी आएको थाहा पाए पनि कति ठूलो भन्ने यकिन गर्न नसकिएको बताए।
'बाढीको ठूलो आवाज आएको छ। बेलुकीको समय भएकाले हेर्न सक्ने अवस्था छैन। रसुवाको तटीय क्षेत्र सखाप भइसकेको थियो। तर मैले धादिङ, नुवाकोट, मन्त्रालय र प्राधिकरणसम्म खबर गरेको छु,' उनले भने, 'तल्लो तटीय क्षेत्रमा प्रभाव पर्न सक्छ। एक घण्टादेखि निरन्तर आवाज छ। अस्ती छोटो समयमा घटेको भए पनि आज निरन्तर आवाज आइरहेको छ।'
उनले अस्तीको गएकै बाटोबाट फेरि बाढी आएकाले गती अझ तीव्र हुनसक्ने बताए।
त्रिशुलीस्थित उद्धार तथा राहतमा खटिएका हाम्रो टिम नेपालका विमल पन्तले पनि ठूलो बाढी आएकाले आफूहरू माथिल्लो भेगमा आएको बताए।
'हामी उद्धारका लागि त्रिशूली पारी आएका थियौं। ठूलो बाढी आएकाले भागाभाग अवस्था छ। अस्तीको भन्दा ठूलो आयो भनेका छन्। हामी अहिले डाँडामा आएर बसेका छौं। धेरै मानिसहरू भागाभाग छन्,' उनले भने।
त्यसैगरी, रसुवा प्रशासनबाट बाढीको सूचना प्राप्त गरे पछि चितवन र काठमाडौंको नागढुंगामै गाडी रोकिएका छन्।
बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डिल्लीनारायण पाण्डेका अनुसार बिहान साढे ४ बजेदेखि गाडी रोकिएका हुन्।
'रसुवाबाट बाढी आएको सूचना छ। साढे ४ बजेदेखि चितवन र नागढुंगामा गाडी रोकिएका छन्। तल्लो तटिए क्षेत्रमा हाइअलर्टमा रहन आग्रह,' उनले भने।