भोटेकोशी-त्रिशूली बाढीमा परेर मृत्यु भएकाहरूको शव फेला पर्ने क्रम जारी छ।
यसै क्रममा नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन्।
लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तरगतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन्।
मन्त्रालयका अनुसार भदौ ११ गते २७ वटा शव र एउटा शरीरको अंग फेला परेको थियो। यहाँ फेला परेका मध्ये आठ महिला, १६ पुरुष, एक बालक र दुई बालिकाको शव थिए।
भदौ १२ गते सात वटा शव र १२ वटा शरीरका अंग गरी १९ वटा फेला परेका थिए।
त्यस्तै, भदौ १३ गते २० वटा शव र १५ वटा शरीरका अंग फेला परेका थिए। जस्मा पाँच महिला, १३ पुरुष, एक बालक र एक बालिकाको शव थिए।
त्यस्तै भोटेकोशीको बाढीका कारण लुम्बिनी प्रदेशका विभिन्न १२ जिल्लाका १६८ जना अझै सम्पर्कविहीन छन्। मन्त्रालयले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै दाङका ४१ जना अझै सम्पर्कविहीन छन्।
रुपन्देहीका ३५, बाँकेका २०, रुकुम पूर्वका १६, रोल्पाका १४, पाल्पाका ११, प्यूठानका १०, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ७, नवलपरासी पश्चिमका ६ र कपिलवस्तुका ४ जना सम्पर्कविहीन रहेको मन्त्रालयले बिवरण सार्वजनिक गरेको छ।
भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म १३ जना भने सम्पर्कमा आएका छन्। रुपन्देहीका ६, दाङका ५, बाँकेका १ र प्यूठानका १ जना सम्पर्कमा आएको मन्त्रालयको विवरणमा उल्लेख छ।
साथै, विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगहरू अस्पतालका शवगृहमा सुरक्षित राखेर पहिचानको प्रक्रिया अघि बढाइएको बताइएको छ।