त्रिशूली नदीमा आज पनि बाढी आएको छ।
उक्त बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगाएको हो।
यो पुलले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ जोड्थ्यो। पुल बगेपछि नदी वारपार गर्न स्थानीयलाई सकस भएको छ।
गण्डकी गाउँपालिका ८ का अध्यक्ष कोकिलबहादुर पुलामी मगरले त्रिशूलीको बाढीले पुल बगाएको सेतोपाटीलाई बताए।
‘झोलुङ्गे पुलको चरौंदीतर्फको टावर भाग बगाएको छ, गोरखातर्फको भागको टावर केही ढल्केको छ,’ उनले भने।
साथै आजको बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा पनि क्षति पुर्याएको स्थानीय बासिन्दाको भनाइ छ।
गत भदौ १० को बाढीले पुल, सहकारी भवनलगायतमा क्षति पुगेको थिएन।