कृष्णभिरस्थित सडक त्रिशूली नदीले कटान गरेको छ। जसले गर्दा पृथ्वी राजमार्गस्थित कृष्णभिर सडक भासिएको छ।
आइतबार बिहान सडक किनारको केही भाग भासिएपछि सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएको हो।
त्रिशूली नदीमा आज पुनः ठूलो बाढी आएपछि सडक भासिएको थियो।
बाढीको बेग सडकको भित्तामा ठोक्किएपछि कटान बढ्दै जाँदा सडक भासिएको हो।
सडक भासिने क्रम जारी रहेकाले जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए। सडक भासिएपछि अहिले मानिसहरूलाई हिँड्न पनि जोखिमपूर्ण अवस्था रहेको उनले बताए। 'बीचसम्मै भासिएको छ। हिँड्न पनि रोक लगाएका छौं,' उनले भने।
भासिएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइहाल्ने अवस्था पनि नरहेको उनले बताए। 'तत्काल सडक बनाइहाल्न सक्ने अवस्था छैन। समय लाग्न सक्छ,' उनले भने।
त्रिशूलीको बहाब भने अहिले केही घटेको उनले बताए।