टी-२० विश्वकप २०२६ विशेष
करण केसी यस्ता खेलाडी हुन् जसले हारिसकेको खेल पनि जिताउन सक्ने ल्याकत राख्छन्।
बलिङ अलराउन्डरको भूमिका आफूलाई धेरै पटक प्रमाणित गरिसकेका छन्।
सुरूआती ओभरमा विकेट लिने क्षमताका बलर करणले टोलीलाई चाहिएका बेला बिस्फोटक ब्याटिङ समेत गर्न सक्छन्। त्यसैले त नेपाली समर्थक करण केसी ब्याटिङमा हुँदा धेरै रनको अपेक्षा गर्छन्।
सिनियर खेलाडी बनिसकेका करण केसी आइसिसी टी-२० विश्वकप २०२६ खेल्दा ‘नोल्टाल्जिक’ हुने पक्का छ। किनभने उनले क्रिकेट भारतमा सिकेका थिए, अब उनी भारतमै टी-२० विश्वकपका लागि तयार छन्।
पूरा नाम: करण खत्री क्षेत्री
जन्म: अक्टोबर १०, १९९१, बागलुङ
उमेर: ३४ वर्ष
ब्याटिङ शैली: दाहिने हाते ब्याटर
बलिङ शैली: दाहिने हाते तीव्र गति
भूमिका: अलराउन्डर
टी-२० आई डेब्यू: नेदरल्याण्ड्स विरुद्ध नेपाल, आम्सटलभिन — जुन ३०, २०१५
करण केसी नेपाली क्रिकेटमा 'भ्यालेन्टाइन ब्वाई' का नामले चिनिन्छन्। सन् २०१८ अगस्टमा नेदरल्यान्ड्सविरुद्ध नेपालले आफ्नो इतिहासको पहिलो एकदिवसीय खेल खेल्दा उनी टोलीका ११ खेलाडीमध्ये एक थिए।
करण दाहिने हाते ब्याट्सम्यान र दाहिने हाते तीव्र-मध्यम गतिका बलर हुन्। उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने नेपालको दोस्रो खेलाडी हुन्। साथै, पिएनजी विरुद्ध ५ विकेट लिएर उनी टी-२० मा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए।
१४ फेब्रुअरी २०१८ मा नामिबियाको विन्डहोकमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ को अन्तिम खेलमा उनले क्यानडाविरुद्ध नेपाललाई १ विकेटको रोमाञ्चक जित दिलाएका थिए। १०औं नम्बरमा ब्याटिङ गर्न आएका उनले ३१ बलमा अविजित ४२ रन बनाएका थिए। सोही जितका कारण नेपाल मार्च २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोट प्रतियोगिताका लागि छानिन सफल भएको थियो।
जसका कारण उनलाई भ्यालेन्टाइन ब्वाइ भनिएको हो। यहि जितको आधारमा नेपालले एकदिवसीय छनोट हुँदै एकदिवसीय मान्यता पाएको थियो। जुन मान्यता अहिलेसम्म कायम छ। त्यसयता उनले तल्लो क्रममा आएर धेरै पटक विस्फोटक ब्याटिङ गर्दै महत्वपूर्ण इनिङ्स खेलेका छन्।
करणको जन्म नेपालको बाग्लुङमा भएको हो भने उनी भारतको चण्डीगढमा हुर्किएका हुन्। भारतमा क्रिकेट सिकेका उनी विदेश जनाका लागि नेपाल आएक थिए। नेपालमा आएर पासपोर्ट बनाउँने उनको सोच थियो। त्यहिँबेला उनले पोखरामा क्षेत्री छनोट खेल्ने सोच बनाए। अनि क्षेत्रीय छनोटमा राम्रै खेले।
क्षेत्रीय छनोटपछि सन् २०१४ मा तत्कालिन नेपाल प्रिमियर लिग खेले। त्यहाँ पनि उनले पञ्चकन्या तेजबाट खेल्दै ७ खेलमा १० विकेट लिएका थिए। यसपछि उनको जीवन मोडियो, क्रिकेटको रस पस्यो अनि विदेश जान आएको ठिटो क्रिकेटमा करिअर बनाउन अघि बढ्यो।
सन् २०१४ को आइसिसी विश्व क्रिकेट लिग डिभिजन-३ का लागि १८ सदस्यीय प्रारम्भिक टोलीमा छानिए पनि उनले अन्तिम टोलीमा मौका पाएनन्। त्यसपछि उनलाई र आरिफ शेखलाई प्रशिक्षकका लागि बैंगलोर पठाइएको थियो। उनले सन् २०१४ नोभेम्बरमा श्रीलंका भ्रमणका क्रममा श्रीलंका क्रिकेट कम्बाइन्ड ११ विरुद्ध दुईवटा तीनदिवसीय खेल खेलेका थिए।
उनले सन् २०१५ जनवरीमा नामिबियामा भएको डिभिजन-२ मार्फत 'लिस्ट ए' क्रिकेटमा डेब्यु गरे। आफ्नो पहिलो प्रतियोगितामै उनले ६ खेलमा ९ विकेट लिए, जसमा क्यानडा विरुद्धको ५ विकेट समावेश थियो।
उनले ३० जुन २०१५ मा नेदरल्यान्ड्स विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरे। सन् २०१८ मा क्यानडा विरुद्धको निर्णायक खेलमा उनले नटआउट ४२ रन बनाउँदै नेपाललाई अन्तिम बलमा जित दिलाएका थिए। १ अगस्ट २०१८ मा उनले नेदरल्यान्ड्स विरुद्ध आफ्नो पहिलो एकदिवसीय खेल खेले।
त्यसपछि उनले २०१८ को एसिया कप छनोट, टी-२० विश्वकप एसिया छनोट, सिंगापुर त्रिकोणात्मक शृङ्खला र ओमानमा भएको शृङ्खलाहरूमा सहभागिता जनाए। ओमान विरुद्धको खेलमा उनले १७ रन दिएर ४ विकेट लिनुका साथै ३१ रनको म्याच-विजेता इनिङ्स खेलेका थिए।
सन् २०१९ नोभेम्बरमा उनले एमसीसीविरुद्ध प्रथम श्रेणीको क्रिकेटमा डेब्यु गरे। सोही महिना उनले बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र २०१९ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाए, जहाँ नेपालले कास्य पदक जित्यो।
करण केसीको विशेषता बलिष्ट शरीर हो। ब्याटिङ गर्ने क्षमताका कारण पनि करण टी-२० फर्म्याटमा नेपालका लागि प्रभावशाली खेलाडी सावित हुँदै आएका हुन्। उनमा कन्डिसनअनुसार बलिङ गर्ने क्षमता छ। त्यसैले उनले नेपालका लागि 'लिस्ट ए' र टी-२० क्रिकेटमा उनीभन्दा धेरै पटक ५ विकेट लिएका छन्।
आइसिसी टी-२० विश्वकप २०२६ - टिम नेपाल :-