फिल्म 'लालीबजार' को कमाइ ९ करोड नजिक पुगेको छ।
वैशाख २५ गते रिलिज फिल्मले जेठ २४ गते आइतबारसम्म ८ करोड ७८ लाख ८ हजार १९८ रूपैयाँ ग्रस कमाइ गरेको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो फिल्मको २ लाख ९८ हजार २२७ वटा टिकट बिक्री भएका छन्।
बोर्डले सोमबार 'लालीबजार' सहित ७ वटा नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार फिल्म 'मितज्यू' ले १ करोड ३१ लाख ११ हजार ८५९ रूपैयाँ ग्रस कमाएको छ। जेठ ८ गते रिलिज यो फिल्मको ४५ हजार ५३३ टिकट बिक्री भएका छन्।
त्यस्तै, जेठ ८ मै रिलिज 'काजी'को कमाइ ४४ लाख ३८ हजार ९८५ रूपैयाँ ग्रस छ। यो फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन्।
फिल्म 'परालको आगो' को कमाइ ४ करोड २८ लाख ११ हजार ४४५ रूपैयाँ छ। १ लाख ५४ हजार १३६ टिकट बिक्री भएको यो फिल्म वैशाख ११ गते रिलिज भएको थियो।
त्यस्तै, जेठ १५ गते रिलिज फिल्म 'रोल नम्बर १' को कमाइ ९४ लाख ९१ हजार ६८० रूपैयाँ ग्रस छ। यसलाई ३१ हजार ७८८ जनाले हेरेका छन् ।
जेठ १ गते रिलिज 'लाइफ ड्यामेज' ले ३४ लाख ४० हजार १५ रूपैयाँ ग्रस कमाएको छ। यसलाई ११ हजार २४८ जनाले हेरेका छन्।
जेठ १५ गते रिलिज 'कुम्भ'ले ३ लाख ३२ हजार ४१० रूपैयाँ ग्रस कमाएको छ। यसलाई १ हजार ४९४ जनाले हेरेका छन्।
चलचित्र विकास बोर्डले यो सातादेखि हरेक सोमबार आइतबारसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्नेछ।
