गुड फ्राइडे सिनेमा
केही फिल्म यस्ता हुन्छन्, जसले पहिलो दृश्यदेखि नै दर्शकलाई उत्तर होइन, प्रश्नहरू दिन थाल्छन्।
मलयालम भाषाको 'एको' त्यस्तै फिल्म हो।
यो रहस्यमयी अपराध थ्रिलर कथा सुरू हुँदा एउटा बेपत्ता अपराधीको खोजी जस्तो देखिन्छ। कथा जति अगाडि बढ्दै जान्छ, यो एक मानिसको मात्र नभई झुट, विश्वासघात, बदला र नियन्त्रणको तह तहमा लुकेको सत्यको खोजी बन्छ।
सन् २०२५ मा प्रदर्शनमा आएको एक दिन्जिथ अय्याथनले निर्देशन गरेका हुन्। कथा, पटकथा र छायांकन बहुल रमेशले गरेका छन्। यो रमेशको 'एनिमल ट्रिलोजी' को अन्तिम फिल्म हो। यसअघि यही शृंखलामा 'किष्किन्धा काण्डम' र 'केरला क्राइम फाइल्स २' आएका थिए।
एकोको कथा केरल–कर्नाटक सीमाको दुर्गम पहाडी क्षेत्रमा सुरू हुन्छ। मोहन पोथन नामका एक व्यक्ति वर्षौंदेखि बेपत्ता रहेका कुख्यात अपराधी कुरियाचनको खोजीमा त्यहाँ पुग्छन्।
उनको उद्देश्य सामान्य देखिए पनि उनले बोकेका रहस्यहरू बिस्तारै खुल्न थाल्छन्।
जंगलको बीचमा एकान्त घर, रहस्यमयी एक महिला, अनौठो व्यवहार गर्ने सहयोगी र वरिपरि घुमिरहेका प्रशिक्षित र डरलाग्दा कुकुरहरूले सुरूदेखि नै असहज वातावरण सिर्जना गर्छन्।
मोहन कुरियाचनलाई खोज्दै उनकी पत्नी म्लाथी र उनका सहयोगी पियुस बसिरहेको घरमा पुग्छन्। सुरूमा साधारण भेटघाट जस्तो लाग्ने घटनाहरू क्रमशः रहस्यमयी बन्दै जान्छन्।
त्यहीबीच कुरियाचनको खोजीमा अर्का व्यक्ति पनि त्यहाँ आइपुग्छन्। अनि मोहनसँग सम्बन्धित एउटा अप्रत्याशित घटना हुन्छ, जसले कथालाई नयाँ मोडमा पुर्याउँछ।
कथा हतारमा अघि बढ्दैन। प्रत्येक पात्रसँग केही न केही रहस्य छ। प्रत्येक संवादले नयाँ प्रश्न जन्माउँछ। दर्शकलाई कुनै पनि पात्रमाथि पूर्ण विश्वास हुने वातावरण हुँदैन।
फिल्मको सबभन्दा ठूलो विशेषता पनि यही हो। यसले उत्तरभन्दा बढी शंका जन्माइरहन्छ।
बिस्तारै बेपत्ता कुरियाचनको विगत, उनकी मलेसियाली पत्नी म्लाथी र उनको अतीतसँग जोडिएका घटनाहरू खुल्न थाल्छन्।
ती खुलासा पनि अन्तिम सत्य होइनन्। प्रत्येक फ्ल्यासब्याकले अघिल्लो विश्वास भत्काइदिन्छ। एउटा पात्रले भनेको सत्य अर्को पात्रको दृष्टिमा झुट साबित हुन्छ।
त्यसैले फिल्मले दर्शकलाई अन्तिम क्षणसम्म वास्तविकता के हो भन्ने अनुमानमै अल्झाइरहन्छ।
फिल्ममा कुकुरलाई जनावरका रूपमा मात्र देखाइएको छैन, तिनलाई कथाको केन्द्रमा राखिएको छ। उनीहरू सुरक्षा हुन् कि कैद? बफादारीका प्रतीक हुन् कि बदलाका हतियार?
फिल्मको नाम 'एको' को अर्थ र त्यसले बोकेको संकेत पनि कथा सकिएपछि मात्र बिस्तारै अर्थपूर्ण लाग्न थाल्छ।
कलाकारहरूको अभिनय फिल्मको बलियो पक्ष हो। विशेषगरी बियाना मोमिनले म्लाथीको भूमिकाम कम संवादमै अनुहारको भाव र मौनताबाट पात्रको पीडा, क्रोध र रहस्यलाई प्रभावशाली रूपमा प्रस्तुत गरेकी छन्।
एकोको छायांकन अर्को आकर्षण हो। कुहिरोले ढाकिएका जंगल, पहाड, वर्षा र एकान्त घरले कथाको तनाव अझ गहिरो बनाउँछन्।
अनि यसको सबभन्दा ठूलो शक्ति हो यसको अन्त्य। यही कारण समीक्षकहरूले एकोको खुलेर प्रशंसा गरेका छन्।
कसैले यसलाई ढिलो गतिमा अघि बढ्ने तर अन्त्यमा शक्तिशाली ट्विस्ट दिने थ्रिलर भनेका छन्। कसैले वर्षकै उत्कृष्ट र सबैभन्दा प्रभावशाली फिल्ममध्ये एक मानेका छन्।
जम्मा पाँच करोड भारतीय रूपैयाँको लागतमा बनेको एकोले विश्वभरबाट ५० करोड रूपैयाँभन्दा बढी कमाउँदै व्यावसायिक सफलता पनि हासिल गर्यो। ओटिटीमा आएपछि भने यसको चर्चा झन् व्यापक बन्यो।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
हेर्नुस् युट्युबमा