सिद्धार्थ बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको लागि पाँच लाख १२ हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्।
बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्रपलाञ्चोक, धादिङ, नुवाकोट र रसुवा जस्ता दुर्गम क्षेत्रका मोतिबिन्दु रोगीहरूको पहिचान गरी उनीहरूको आँखा शल्यक्रिया गर्नका लागि उपयोग गर्ने बताइएको छ।
सो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नपाएका बिरामीहरूको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य राखेको छ।