धितोपत्र बोर्डको सञ्चालक समितिले १६ नयाँ ब्रोकरलाई सञ्चालनको लागि तयारी गर्न आशय पत्र प्रदान गरेको छ।
सेयर बजारमा १० वर्षपछि ब्रोकर थपिन लागेको हो। २०६८ मा २७ नयाँ ब्रोकर थपिएर कुल ५० वटा ब्रोकर संख्या पुगेको थियो।
धितोपत्र बोर्डले असोजमै आवेदन मागेका ४५ मध्ये १६ वटाले आशय पत्र पाएका हुन्।
नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सिविआइएल सेक्युरिटिज, केविएल सेक्युरिटिज, आरबिबि सेक्युरिटिज, सानिमा सेक्युरिटिजले आशय पत्र पाएका हुन्।
यस्तै, आशय पाउने अन्यमा इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकारभैरव सेक्युरिटिज, एलिट स्टक आउस र एसपिएसए सेक्युरिटिज रहेका छन्।
प्रक्रियामा रहेका अन्यलाई पनि क्रमिक रुपमा आशय पत्र दिइनेछ। बोर्डले हरेक तीन/तीन वर्षमा बजारको आवश्यकता अनुसार धितोपत्र दलाल थप्न सक्ने व्यवस्था छ।
नबिल सेक्युरिटिजले धितोपत्र व्यापारीको काम गर्ने र मेघा स्टक मार्केटले पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि अनुमति मागेको हो।
अन्यले भने सीमित कार्य गर्ने दलालको रुपमा काम गर्नेछन्। धितोपत्र व्यापारीको लागि एक अर्ब ५० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने दलालको लागि २० करोड रूपैयाँ चुक्ता पुँजी तोकिएको छ।
आशय पत्र पाएको छ महिनाभित्रमा यी कम्पनीले पूर्वाधार तयार गरी धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ।
बोर्डले ३० दिनभित्र स्थलगत निरीक्षण र जाचबुझ गर्नेछ।
बोर्डले पूर्वाधार अपर्याप्त देखेमा बढीमा तीन महिनाको समय दिएर थप व्यवस्था गराउन लगाउँनेछ। सो अवधिमा पनि पूर्वाधार तयार नगर्नेको अनुमति स्वतः रद्द हुनेछ।
