नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट पाएको विस्तारिक कर्जा सुविधा (ईसीएफ) को दोस्रो किस्ता भुक्तानी पाउने भएको छ।
नेपालले हाल ५ करोड २८ लाख अमेरिकी डलर भुक्तानी पाउने भएको हो। योसँगै नेपालले यस सुविधाअन्तर्गत कुल १५ करोड ७४ लाख डलर पाएको छ।
भुक्तानी सन्तुलनमा समस्या आएसँगै सरकारले यस्तो सुविधा मागेको थियो। कोषले नेपाल सरकारलाई बिना ब्याजको ३७ करोड डलरको ऋण सुविधा दिने निर्णय गरेको थियो।
सरकारले पुसमै पहिलो किस्तावापत ११ करोड डलर भुक्तानी पएको भए पनि आवश्यक सुधार नगरेको भन्द दोश्रो किस्ता रोकिएको थियो। २०७९ सालको जेठमै दोस्रो किस्ता पाउनुपर्ने थियो।
अमेरिकामा बसेको आईएमएफको बोर्ड बैठकले ऋणको पहिलो र दोश्रो समीक्षालाई स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो।
यसअघिको ऋण सम्झौता र त्यसपछिका समीक्षाबाट औँल्याइएका नीतिगत सुधार भएकाले नेपालले अड्किएको दोस्रो किस्ता भुक्तानी पाउने भएको हो।
यो स्वीकृतिसँगै नेपाल सरकारले बजेटरी सहायताका रूपमा यो रकम परिचालन गर्नेछ।
नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार नै अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र लेखापरीक्षण गरेको, बैंकिङ सम्पत्ति वर्गीकरणको नियमन संसोधनको तयारी गरिरहेकोमा आईएमएफ सकारात्मक छ।
त्यस्तै, आईएमएफले यस आर्थिक वर्षमा नेपालको वृद्धिदर ४.४ प्रतिशत रहने, चालू खाता घाटा घटेर जिडिपीको ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।