मोदी ईनर्जी लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।
सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो भने ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता आइपिओ कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको थियो।
बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा बिक्री अवधि जेठ २ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन डबल बी प्लस इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्छन्।