अमेरिकाको केन्द्रीय बैंक (फेड)ले १४ महिनाको अवधिमै १०औं पटक नीतिगत ब्याजदर वृद्धि गरेको छ। बुधबार बसेको फेडको बैठकले सन्दर्भ ब्याजदर (बरोइङ रेट) ०.२५ प्रतिशतले वृद्धि गरेको हो।
अमेरिकाका बैंकहरूबीच एक आपसमा सापट लिन वा ओभरनाइटको रुपमा लिने रकममा यो रेट लागु हुन्छ।
यो सँगै फेड फण्ड रेट १६ वर्षयताकै उच्च तहमा पुगेको छ। यो अगष्ट २००७ यताकै उच्च तहमा पुगेको हो।
यो ब्याजको आधार बिन्दु ५ प्रतिशतदेखि ५.२५ प्रतिशतको बीचमा रहेको छ। योसँगै अल्पकालिन उपभोक्ता कर्जा र क्रेडिट कार्डको ब्याजदर बढ्ने अनुमान गरिएको छ।
तत्काललाई यो वृद्धि नै अन्तिम हुनसक्ने संकेत भने फेडले गरेको छ।
आर्थिक वृद्धि र बैंकहरू धराशायी हुँदै गएसँगै देखिएको अवस्थाका आधारमा फेडले आगामी दिनमा ब्याजदर वृद्धिको नीति नलिनेमा लगानीकर्ताहरू आशावादी देखिएका छन्।
गत सोमबार मात्रै अमेरिकाको दोस्रो ठूलो रिटेल बैंक फर्स्ट रिपब्लिक खारेज भएको छ।
समग्रमा भने यो अमेरिकाको १४औं ठूलो बैंक हो। फर्स्ट रिपब्लिकलाई नियन्त्रणमा लिएर नियामकहरूले जेपी मोर्गन चेजलाई यो बैंक बिक्री गरेका छन्।