मंगलबारबाट काठमाडौंमा नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५ आयोजना हुने भएको छ।
सोमबार यस कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपालमा विदेशी लगानी भित्र्याउन यो सम्मेलन सहयोगी हुने बताइएको छ।
'यो फोरममा आउने डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटहरूको लगानी उद्देश्य नाफा कमाउने मात्रै हुँदैन,' इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन)मा आयोजना निर्देशक बुद्धिका समरासिंगेले भने, 'उनीहरू सुशासन, सामाजिक प्रभाव, पर्यावरणमैत्री लगानीहरूमा बढी जोड दिन्छन्।'
हालै सरकारले लगानी नीतिमा गरेको संशोधन र यसमा देखाएको तत्परताले नेपाल विदेशी लगानी भित्र्याउन तयारी अवस्थामा रहेको संकेत गर्ने र यसले विदेशीहरूलाई समेत आकर्षित गर्ने उनले बताए।
यसपटक मात्रै ६ वटा नयाँ डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटहरूले कार्यक्रममा सहभागिता जनाउन लागेको जानकारी आइआइएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले दिए।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यी प्रयासको कारण वाणिज्य बैंकहरूमार्फत् हाल सात खर्ब ४८ अर्ब बराबरको रकम भित्रिएको उल्लेख गरे।
तीन दिनसम्म चल्ने यो सम्मेलनमा १४ डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटका प्रतिनीधिहरूको उपस्थिति हुनेछ।
यसको पहिलो संस्करणमा आठ वटा र दोस्रो संस्करणमा १४ वटा डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटको सहभागिता थियो।
यो तेस्रो संस्करण अन्तर्गतको सम्मेलनमा पहिलो दिन वैदेशिक लगानी वृद्धि, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता अवधारणा लगायतका विषयमा प्राविधिक सत्र हुनेछ।
दोस्रो दिन लगानी सहजीकरण र दीर्घकालीन सहकार्यको लागि सरकार र विकास साझेदारहरूबीच रणनीतिक छलफल हुने र तेस्रो दिन नेपालमा अनुशरण भएका आर्थिक गतिविधि सम्बन्धमा स्थलगत भ्रमण गरिने कार्यतालिका छ।
यो सम्मेलन आइआइएन, नेपाल बैंकर्स एसोसिएसन र नेपाल प्राइभेट इक्विटी एसोसिएसनको साझेदारीमा आयोजना हुन लागेको हो।