नेपालको अग्रणी डजिटिल भुक्तानी नेटवर्क फोनपेले एभरेष्ट बैंकसँग सहकार्य गर्दै 'एभरेष्ट फोनपे क्रेडिट कार्ड' सुरू गरेको छ।
फोनपे क्रेडिट कार्ड स्किम अन्तर्गतको यो नवप्रवर्तनात्मक सेवा पूर्ण रूपमा भर्चुअल हो र एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप 'इबिएल टच २४.' मार्फत सहज रूपमा पहुँचयोग्य छ।
यस कार्डले प्रयोगकर्ताहरूलाई अझ सहजता र नियन्त्रण दिने लक्ष्य कम्पनीले लिएको छ। कार्डधारकहरूले अब देशभर रहेका फोनपे क्यूआरमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
यस कार्डले ब्याजरहित अवधिहरू लगायत परम्परागत क्रेडिट सुविधाहरू आधुनिक क्यूआरमा आधारित कारोबारसँग जोडेर प्रयोगकर्तालाई थप सुविधा दिएको छ।
'एभरेष्ट बैंक पनि अब हाम्रो यात्रामा सहभागी भएपछि हामी निकै उत्साहित छौँ,' फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, 'यो सहकार्यले घरेलु र सुरक्षित क्रेडिट समाधानको खाँचो पुष्टि गर्छ जसले उपभोक्ता र व्यापारी दुवैलाई फाइदा पुर्याउँछ। हाम्रो दृष्टिकोण भनेकै विशेष वर्ग मात्र होइन सबै नेपालीलाई समेट्ने गरी सहज र समावेशी क्रेडिट अनुभव प्रदान गर्नु हो।'
सिटिजन्स बैंकसँगको सफल सुरुवातपछिको यो दोस्रो चरण भएको कम्पनीले जनाएको छ।
अझ धेरै बैंकहरूले पनि छिट्टै आफ्ना फोनपे क्रेडिट कार्डहरू सुरू गर्ने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ।