ग्लोबल आइएमई बैंकको अगुवाइमा ताप्लेजुङस्थित माथिल्लो मेवा खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसम्बन्धी अन्तिम सम्झौता (फाइनान्सियल क्लोजर) गरेको छ।
३१.९२ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो।
ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको सहभागिता रहेको कन्सोर्टियमले आयोजना निर्माणका लागि ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने उल्लेख छ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रम ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना तोकिएको समयभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि तथा निर्यात प्रवर्द्धनमा योगदान पुग्ने बताए।
आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड रूपैयाँ रहेको छ।
सम्झौताअनुसार आयोजनामा बैंकहरूले ७५ प्रतिशत ऋण लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत लगानी सौर्य होल्डिङले हकप्रद सेयरमार्फत उठाएको पुँजीबाट गर्ने उल्लेख छ।
निर्माण सुरू भएको मितिबाट तीन वर्षभित्र आयोजना सम्पन्न गरिने लक्ष्य राखिएको छ।