पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेचेर बाहिरिने भएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै हिमालयन बैंकले शुक्रबार हबिब बैंकको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर बेच्न सार्वजनिक सूचना गरेको छ।
हिमालयन रिइन्स्योरेन्सले हबिबको नाममा रहेको सेयर खरिद गर्ने सहमति भइसकेको छ। औपचारिक प्रक्रिया पूरा गर्न शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरिएको हो।
२०७६ मै बैंकको सेयर बेचेर बाहिरिन खोजेको हबिबले हालै मात्र राष्ट्र बैंकबाट स्वीकृति पाएको हो।
संस्थापक सेयर किन्न विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने नीतिगत व्यवस्थाले हबिबले सेयर बिक्री गर्न सकिरहेको थिएन।