एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङको चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड रूपैयाँ बराबरको वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
उक्त आयोजना मनाङ जिल्लाको नासोङ गाउँपालिकामा निर्माण गरिँदैछ। परियोजना बुटवल पावर कम्पनी लिमिटेडको प्रवर्द्धन अघि बढाइएको हो।
चाइनिज ठेकेदार कम्पनीलाई इपिसी मोडेलमा ठेक्का दिइएको छ जसअनुसार आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। परियोजनाबाट उत्पादन हुने विद्युत मनाङको धारापानीस्थित सब–स्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावरबीच विद्युत खरिद–बिक्री सम्झौता २०८२ सालको वैशाख महीनामै भइसकेको छ। यो आयोजना सम्पन्न भएपछि वर्षेनी ४४.४६३ गिगावाट–आवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ।
बैंकका १३२ वटा शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटिएम मेशिन छन्। हालसम्म एभरेष्ट बैंकसँग १४ लाखभन्दा बढी ग्राहक छन्।