हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको छ। यसअघि नै सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन (आइपिओ) गरिसकेकाहरूले एफपिओ जारी गर्छन्।
अहिले सेयर बजारमा हिमालयन बैंकको प्रतिकित्ता सेयर दुई सय १४ रूपैयाँमा करोबार भइरहेको छ। बैंकले प्रतिकित्ता एक सय ६९ रूपैयाँमा एफपिओ जारी गर्ने भएको हो।
बैंकको एफपिओको नागरिक लगानी कोषले प्रत्याभूति गर्ने भएको छ।
यसै सम्बन्धमा बैंक र कोषबीच सम्झौता भएको छ। सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार चार सय ६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ।
प्रत्याभूति सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ।
सर्वसाधारणमा बिक्री गरेको सेयर बिक्री नभएमा यस्तो बिक्री हुन नसकेको सेयर प्रत्याभूतिकर्ताले खरिद गर्नुपर्ने हुन्छ।