माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रूपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रूपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ३ करोड ८५ लाख ८२ हजार ४०० रूपैयाँ बराबरको प्रति सेयर १०० रूपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त सेयर खरिदका लागि संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त सेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ सिंगल बी प्लस' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादी नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला, मादी नगरपालिका वडा नं. ७ बाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।